सुपरमार्केटहरूले अब अरूको उत्पादनमा आफ्नै लेबल लगाउन नपाउने

काठमाडौं । सुपरमार्केटहरूले अब अन्य उत्पादक वा आयातकर्ताले उत्पादन गरेका वस्तुहरूमा आफ्नो लेबल राखेर बिक्री गर्न नपाउने भएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागका प्रवक्ता जगदिश अर्यालका अनुसार, उपभोक्ता संरक्षण ऐन, २०७५ को प्रावधानलाई कार्यान्वयन गराउन यो कदम चालिएको हो । ‘मार्टहरूले आफैं लेबल लगाएर वस्तु बेच्ने गरेको उपभोक्ताबाट गुनासो आएको थियो । त्यसपछि हामीले सुपरमार्केटका प्रतिनिधिहरूसँग छलफल गरी यो स्पष्ट निर्देशन दिएका हौं,’ अर्यालले भने ।

गत शुक्रबार भाटभटेनी सुपरमार्केट र विगमार्टका प्रतिनिधिहरूसँग र आइतबार के.के. मार्टका प्रतिनिधिसँग विभागले छुट्टाछुट्टै छलफल गरी आवश्यक निर्देशन दिएको हो । छलफलपछि सुपरमार्केटहरूका प्रतिनिधिहरूले आफूले उत्पादन गरेका वस्तुहरूमा मात्रै लेबल राख्ने र अन्य वस्तुमा लेबल नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रवक्ता अर्यालका अनुसार, यो निर्देशन उपभोक्ताको हितमा गरिएको हो र उपभोक्तालाई कुनै हानि पुग्ने छैन । उनले स्पष्ट पारे, ‘हामीले नयाँ व्यवस्था ल्याएका होइनौं, ऐनमै भएको व्यवस्था कार्यान्वयनका लागि मात्र निर्देशन दिएका हौं ।’

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ उपदफा ३ अनुसार, उत्पादकले आफ्नै उत्पादनमा र आयातकर्ताले आयात गरिएका वस्तुहरूमा सर्वसाधारणले बुझ्न सक्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल राख्नुपर्ने कानुनी व्यवस्था छ ।

विभागले सुपरमार्केटहरूलाई उपभोक्ता मूल्यमा छुट दिन छुट छैन भन्दै, ‘मार्टले चाहे उपभोक्तालाई एमआरपीमा ९९ प्रतिशत छुट दिएर पनि बिक्री गर्न सक्छ,’ भन्ने प्रष्ट पारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री