माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल काम समयअघि नै सम्पन्न

काठमाडौं । देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकल सम्पूर्ण कामहरू सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका अनुसार २०८१ साल फागुन मसान्त भित्र यी कार्यहरू सकाई इलेक्ट्रोमेकानिकल टोलीलाई जिम्मेवारी समेत हस्तान्तरण गरिएको हो।

हाल आयोजनाको इलेक्ट्रोमेकानिकल काम भारतको बीएफएल कम्पनीद्वारा भइरहेको छ। निर्माण अवधिभर आयोजनाको मार्गमा रहेको “मालाङ” क्षेत्रको बारम्बार पहिरोका कारण करिब चार महिना काम ठप्प हुनपरे पनि, निरन्तर प्रयासका साथ समयमै काम सम्पन्न गर्न सफल भएको देव ग्रुप अफ कम्पनी प्रालिका सीईओ नविन सिलवालले जानकारी दिए। उनका अनुसार वर्षा र हिमपातजस्ता प्राकृतिक अवरोधहरूको बाबजुद पनि निर्धारित समयभन्दा अगावै सिभिल तथा हाइड्रो मेकानिकल संरचनाहरू तयार पार्न टोलीले अथक मेहनत गरेको हो।

औपचारिक रूपमा २०७९ साल फागुन १५ गते भूमिपूजन कार्यक्रमसहित सिभिल तथा हाइड्रो मेकानिकल कामको सुरुवात गरिएको थियो भने मुख्य संरचनागत कार्यहरू २०८० साल वैशाखदेखि तीव्र गतिमा अघि बढाइएको थियो।

वित्तीय प्रमुख प्रदीप खतिवडाका अनुसार आयोजनाको निर्माण कार्य तोकिएको मिति २०८२ साल असोज २८ गतेभन्दा पहिला नै सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्यसहित अन्तिम तयारीमा जुटिएको छ। करिब ३ अर्ब ९४ करोड रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना ठूलो खोला हाइड्रोपावर लिमिटेडको नेतृत्वमा निर्माण भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री