काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिलाई भ्रमपूर्ण र कपोलकल्पित भनेको छ । लिङ्देनले २०८१ चैत १५ गतेको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा नेपाली कांग्रेसका एकजना सहमहामन्त्रीका छोरालाई प्रहरीले पक्राउ गरेपछि गृहमन्त्रीको आदेशमा रिहा गरिएको दाबी गरेका थिए । कांग्रेसले यसलाई भ्रामक र असत्य भन्दै घोर भर्त्सना र निन्दा गरेको छ ।
कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘लिङ्देनले दिएको अभिव्यक्ति पूर्णरूपमा भ्रमपूर्ण छ र यसको कुनै आधार छैन ।’ अगाडि भनिएको छ, ‘जसलाई लिङ्देनले उल्लेख गरेका छन्, त्यो व्यक्ति सो दिन नेपालमा समेत थिएन ।’
विज्ञप्तिमा कांग्रेसले लिङ्देनको अभिव्यक्तिको विरोध गर्दै ‘राप्रपा अध्यक्ष लिङ्देनले नेपालमा नभएको व्यक्तिको दोष लगाएर अवाञ्छित क्रियाकलाप र लुटपाटको ढाकछोप गर्ने प्रयास गरेका छन्, जुन अत्यन्तै निन्दनीय कार्य हो,’ भनिएको छ ।
कांग्रेसले राप्रपा अध्यक्षलाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अरूको प्रतिष्ठामा हानी नगर्न र सामाजिक मर्यादालाई सम्मान गर्न आग्रह गरेको छ । कांग्रेसले लिङ्देनलाई आफ्नो बयानको सन्दर्भमा अधिक जिम्मेवारी र विवेकपूर्ण व्यवहार अपनाउन पनि अनुरोध गर्दै भनेको छ, ‘हामी चाहन्छौं कि यस्ता कपोलकल्पित र भ्रामक बयानले जनतामा भ्रम फैलाउन नपाउँछ, र हामी सबै राजनीतिक दललाई आफ्नो नेतृत्व र कार्यकर्तालाई अनुशासित र जिम्मेवार बनाउनका लागि प्रेरित गर्न चाहन्छौं ।’





