काठमाडौँ । राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा प्राइम टाइम टेलिभिजनकी पत्रकार सविना कार्कीमाथि भएको क्रुर आक्रमणप्रति अनलाइन टिभी पत्रकार सङ्घ नेपालले गम्भीर खेद व्यक्त गरेको छ।
सङ्घले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पेसागत कर्तव्य निर्वाह गरिरहेकी पत्रकारमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर आक्रमण र निन्दनीय कार्यको रूपमा टिप्पणी गरेको हो।
सङ्घका अनुसार कार्कीका दुवै आँखामा गम्भीर चोट लागेर स्वास्थ्यमा गम्भीर असर परेको छ। घटनाको तत्काल गम्भीर छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको विज्ञप्तिमा उल्लेख छ।
महासचिव पवन फुँयालद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरूमाथि भइरहेको दमन तत्काल रोक्न पनि आग्रह गरिएको छ। साथै, प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित सबै निकायहरूप्रति विशेष आह्वान गरिएको छ।
सङ्घले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अन्य पत्रकारहरूलाई समाचार सङ्कलनका क्रममा ‘सुरक्षा पहिले’ भन्ने नीतिलाई आत्मसात् गरी उच्च सतर्कता अपनाउन पनि सुझाव दिएको छ।
वक्तव्यमा प्रेस स्वतन्त्रता जोगाउन सबै पक्ष सचेत र जिम्मेवार बन्नु आवश्यक रहेको उल्लेख गरिएको छ।




