आमाको मुख हेर्ने पर्व आज, देशभर श्रद्धा र भक्तिसाथ मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन, अर्थात् आमाको मुख हेर्ने पर्व, श्रद्धा र भक्तिसाथ मनाइन्छ। यो पर्व विशेषतः जन्मदाता आमालाई सम्मान र आशीर्वाद दिने दिनको रूपमा लिइन्छ, जहाँ छोराछोरीले आफ्नी आमालाई मीठा खानेकुरा खान दिई उहाँबाट आशीर्वाद लिन्छन्।

शास्त्रअनुसार, आमालाई उपाध्याय र पिताभन्दा पनि उच्च स्थानमा राखेर उहाँको सम्मान गर्ने परम्परा छ। विशेष गरी, आजको दिनमा छोराछोरी बिहान उठेर नुहाइधुवाइ गरेर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र उहाँलाई मीठा तागतिला खानेकुरा खान दिई आशीर्वाद प्राप्त गर्ने चलन छ।

तर, आमाबाट वञ्चित भएका व्यक्तिहरू भने दिवङ्गत आमाको सम्झना गर्दै तर्पण र पिण्डदान गर्छन्, र पुरोहितलाई सिदादानसहित भोजन गराई श्रद्धा अर्पण गर्छन्।

सन्तानलाई नौ महिनासम्म गर्भमा राखी जीवन दिने आमाको महत्त्व सनातन वैदिक शास्त्रमा अत्यन्तै उच्च स्थानमा राखिएको छ। धर्मशास्त्रविद् र नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने शास्त्रीय भनाइले आमाको महत्त्वलाई स्पष्ट पार्छ। उनले थपे, “आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला र प्यारा छन्।”

वैदिक शास्त्रमा यो पनि उल्लेख गरिएको छ कि बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी छ। त्यसकारण, जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिई उहाँलाई सम्मान गर्ने र खुसी बनाउने परम्परा छ।

आमाको मुख हेर्ने पर्वका अवसरमा दिवङ्गत आमाका नाममा तर्पण, पिण्डदान र सिदादान गरिन्छ। यस दिनको महत्त्वलाई प्रकट गर्दै प्रा. डा. भट्टराईले भने, “दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण र पिण्डदान गर्नाले उहाँ खुसी भइ आशीर्वाद दिनुहुन्छ।”

यस अवसरमा काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा ठूलो मेला लाग्ने परम्परा छ। नगर प्रमुख घनश्याम गिरीका अनुसार, मेला लाग्ने सबै तयारी पुरा गरिएको छ।

यस वर्ष गुरु अस्त हुने र विश्वका केही देशहरूमा सूर्यग्रहण देखिने कुरा प्रचारित भए पनि, समितिले यो प्रचार सही नभएको बताएको छ।

यो पर्व आमाको महत्त्व र सन्तानप्रति उनको अनमोल माया र बलिदानलाई सम्झने दिनको रूपमा मनाइन्छ, जहाँ जनतालाई धर्म र संस्कृतिको महत्त्व पुनः स्मरण गराइन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप