झापामा रात्रिबस दुर्घटना: आन्दोलनबाट फर्किरहेका १६ शिक्षकसहित २२ जना घाइते

झापा । काठमाडौंबाट झापा आउँदै गरेको रात्रिबस शनिबार बिहान दुर्घटनामा पर्दा २२ जना यात्रु घाइते भएका छन् । शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा बिहान करिब ५:३० बजे बस अनियन्त्रित भई पल्टिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार, घाइतेमध्ये १६ जना शिक्षक आन्दोलन सकेर राजधानीबाट घर फर्किंदै थिए । तीमध्ये शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको बताइएको छ ।

घाइतेहरूको बिर्तामोडस्थित विर्तासिटी अस्पताल र बी एन्ड सी हस्पिटलमा उपचार भइरहेको छ ।

घटनाको प्रत्यक्षदर्शी र घाइते शिक्षक लीलाप्रसाद भण्डारीका अनुसार, बसमा सवारी अवधिभर अस्वाभाविक हल्लावट देखिएको थियो । ‘म ड्राइभरको सिट पछाडि थिएँ,’ उनले भने, ‘एक्कासि गाडी पल्टियो । गाडीबाट इन्धन चुहिएको देखेपछि घाइते अवस्थामै अन्य यात्रुहरूको उद्धार गर्न थालेँ ।’

बसका चालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि झिलझिले इलाका प्रहरी कार्यालयको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री