काठमाडौँ । मुलुकभर १९औँ लोकतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । लोकतान्त्रिक आन्दोलनमा प्राण आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्र दिवसलाई राष्ट्रिय उत्सवको रूपमा मनाइँदै आएको हो ।
यो दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६३ साल वैशाख ११ गते विघटित संसद् पुनःस्थापना गरी कार्यकारी अधिकार हस्तान्तरण गरेका थिए, जसले नेपाली राजनीतिक इतिहासमा निरङ्कुश शासनको अन्त्यको रूपमा नयाँ अध्याय सुरु गर्यो ।
उक्त दिन शाहले दिएको ऐतिहासिक घोषणामा भनिएको थियो, “राज्यशक्तिको स्रोत नेपाली जनता नै हुन्। वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त जनभावनाको सम्मान स्वरूप प्रतिनिधिसभा पुनःस्थापित गरिएको छ।”
सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा (माओवादी) को सहभागितामा भएको जनआन्दोलन २०६२/६३ को बलमा नेपाली जनताको निर्णायक जीत भएको थियो। त्यसको परिणामस्वरूप वैशाख १५ गते पुनर्स्थापित संसद्को बैठक आह्वान गरियो।
त्यसपछिका वर्षहरूमा दुई संविधानसभामार्फत तयार गरिएको नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भयो। यसले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत गर्यो। संविधान अनुसार संघ, प्रदेश र स्थानीय तहका दुई–दुई पटक निर्वाचन सम्पन्न भइसकेका छन्।
संघीयताको अभ्याससँगै राज्यका सेवा र सुविधा जनताको घरदैलोमा पुर्याउन सहज भएको छ भने विपद् व्यवस्थापनमा पनि संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी भूमिका खेलिरहेको देखिन्छ।
लोकतन्त्र दिवसको अवसरमा विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गर्दै लोकतन्त्रलाई मजबुत पार्दै देशको समृद्धिका लागि सबै शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार, लोकतन्त्र नै सबैभन्दा उपयुक्त शासन प्रणाली हो र त्यसप्रति सबैले प्रतिबद्ध हुनुपर्ने बेला आएको छ।
वि.सं. २०६५ सालदेखि वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रूपमा औपचारिक रुपमा मनाउन थालिएको हो।



