देशभर बदली : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा स्थानीय र पश्चिमी वायु प्रणालीको आंशिक प्रभावले मौसममा केही परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने अन्य क्षेत्रमा मौसम सामान्यतः सफा छ ।

कोशी प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ । यिनै क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वा मध्यम वर्षाको सम्भावना पनि रहेको छ ।

यी तीनवटै प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ, जुन अवस्था राति पनि जारी रहनेछ ।

मौसममा आएको यो परिवर्तनले कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री