काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको पहिलो वार्षिक साधारण सभा बुधबार राजधानीको रामशाहपथस्थित प्रमुख कार्यालयमा सम्पन्न भएको छ । सभाले कम्पनीका विभिन्न आर्थिक तथा प्रशासनिक विषयमा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ ।
सभाले कम्पनीको सञ्चालक समितिको प्रतिवेदन, नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७९/१०/२८ को निर्णयअनुसार गठन भएको सञ्चालक समितिले अनुमोदन गरेको सञ्चालक समितिको निरन्तरता दिने निर्णयलाई अनुमोदन गरेको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित विगत चार आर्थिक वर्ष (२०७६/७७, २०७७/७८, २०७८/७९ र २०७९/८०) का वार्षिक प्रतिवेदन, नाफा–नोक्सानी हिसाब, नगद प्रवाह विवरण, वित्तीय विवरणहरू र त्यसका अनुसूचिहरू पारित गरिएको छ ।
सभा मार्फत २०७६/७७ देखि २०७८/७९ सम्मको लेखापरीक्षणका लागि महालेखा नियन्त्रकको कार्यालयबाट नियुक्त लेखापरीक्षकहरू खुबसिंह थापा र विजयसिंह पराजुलीको नियुक्ति र तिनद्वारा प्रस्तुत पारिश्रमिक अनुमोदनसमेत गरिएको छ ।
त्यसैगरी, कम्पनीको सञ्चालक समितिको मिति २०७९/१०/३० को बैठकले पारित गरेको ५५ औं संशोधनको सेयर मूल्य वृद्धिको प्रस्तावलाई समेत साधारण सभाले अनुमोदन गरेको छ । प्रस्तावअनुसार कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रजिष्टारको कार्यालयमा अभिलेख राख्ने प्रक्रिया अघि बढाइनेछ ।




