काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र खतरामा परेको भन्ने धारणा अस्वीकार गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याउँदै गणतन्त्र आफैंमा सुरक्षित रहेको बताएका हुन् ।
‘गणतन्त्र खतरामा छैन,’ अध्यक्ष प्रचण्डले भने, ‘हामी यस प्रणालीमा पहिले पनि थियौं, अहिले पनि छौं ।’ पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिमा पुनरागमनको विषयमा पत्रकारले उठाएको जिज्ञासामा प्रचण्डले संवैधानिक र कानुनी दृष्टिकोणले उनलाई रोक्ने कुनै कारण नरहेको स्पष्ट पारे । ‘उहाँ फर्किन चाहनुहुन्छ भने त्यसमा रोकावट छैन,’ उनले भने ।
गठबन्धनसम्बन्धी चर्चाको खण्डन गर्दै प्रचण्डले पछिल्ला दिनमा माओवादी केन्द्र हालको सत्ता गठबन्धनमा सहभागी हुने वा समर्थन गर्ने भन्ने हल्ला पूर्णतः भ्रमपूर्ण भएको बताए । शनिबार बालुवाटरमा भएको तीन शीर्ष नेताबीचको छलफलप्रति संकेत गर्दै उनले भने, ‘हिजो भेटघाट भयो भन्दैमा समर्थन भयो भन्ने भ्रम नपरोस्। त्यो पूर्ण रूपमा गलत बुझाइ हो ।’
उनले अहिलेको गठबन्धनलाई माओवादी केन्द्रको समर्थन नहुने र भविष्यमा पनि सहभागी हुने सम्भावना नरहेको प्रष्ट पारे । आज प्रचण्ड विराटनगरमा दुई मुख्य कार्यक्रममा सहभागी हुँदैछन् । आजै साँझ काठमाडौं फर्किने तयारी छ ।




