काठमाडौं । हालै राजसंस्था पुनःस्थापनाको पक्षमा गठन गरिएको ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीसँग पूर्वराजा ज्ञानेन्द्र शाहको लामो समयदेखि कुनै सम्पर्क नभएको दाबी गरिएको छ ।
चैत ४ गते सुवेदीको संयोजकत्वमा गठित सो समितिमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र सदस्य सचिव र महामन्त्री धवल शमशेर राणा आन्दोलन संयोजक रहेका छन् । अन्य सदस्यहरूमा पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा, राजेन्द्र लिङ्देन, दुर्गा प्रसाईं, अस्मिता भण्डारी, हरिबहादुर बस्नेत, केशरबहादुर बिष्ट र रमा सिंह छन् ।
चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा हिंसा भएपछि संयोजक सुवेदी प्रहरी नजरबन्दमा परेका छन् । त्यसबीच, शुक्रबार पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका सात नेताहरूसँग ‘लञ्च मिटिङ’ गरेका थिए, जहाँ उनले सुवेदीसँग धेरै वर्षदेखि भेट नभएको बताएका हुन् ।
भेटमा करिब दुई घन्टा छलफल भएको र तीमध्ये चैत १५ को आन्दोलनबारे पूर्वराजाले जिज्ञासा राखेका थिए । जवाफमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सो कार्यक्रम संयुक्त जनआन्दोलन समितिको रहेको बताएका थिए ।
त्यसपछि पूर्वराजाले सोधे, ‘यो समिति तिमीहरूले बनाएको हो ?’
त्यसमा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले समिति निर्मल निवासमा बनाइएको भन्ने चर्चा चलेको बताएका थिए ।
तर पूर्वराजाले त्यसप्रति अचम्म व्यक्त गर्दै भने, ‘नवराज सुवेदीसँग त भेट भएको वर्षौं भइसक्यो ।’
आन्दोलनमा सक्रिय दुर्गा प्रसाईंको विषयमा पनि पूर्वराजाले आन्दोलन अघि कुनै भेटघाट नभएको बताए । शाहीले प्रसाईंको निवास आएको भिडियो देखिएको बताउँदा पूर्वराजाले स्पष्टीकरण दिँदै भने, ‘उनी हाम्रो कर्मचारीसँग भेट्न आएका रहेछन् ।’
लञ्च मिटिङमा अध्यक्ष लिङ्देनसँगै पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र ज्ञानेन्द्र शाही सहभागी थिए ।




