बुटवलमा प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीमाथि गोली प्रहार

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा शनिबार बिहान एक युवतीमाथि गोली प्रहार भएको छ । सामान्य खाजा घर सञ्चालन गर्दै आएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीलाई सितारे आलम नाम गरेका युवकले गोली हानेका हुन् ।

प्रहरीका अनुसार उनीहरू केही समयअघि मात्रै चिनजान भएका थिए । पाल्पाको रैनादेवी छहरा गाउँपालिका स्थायी घर भई बुद्धनगरमा व्यवसाय सञ्चालन गर्दै आएकी विष्टमाथि आलमले पटक-पटक विवाहको प्रस्ताव राख्दै आएका थिए । ती प्रस्ताव अस्वीकार गरेपछि उनले ज्यान मार्ने धम्कीसमेत दिने गरेको खुलेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्रबहादुर रानाका अनुसार, युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण उक्त आक्रमण भएको बताएकी छिन्। ‘भिडियो कलमार्फत डर देखाउने, धम्की दिने र बिहे नगरे ज्यान लिन्छु भन्ने किसिमका संवाद भएको स्क्रिनसर्टसमेत पीडितले देखाएकी छिन्,’ डीएसपी रानाले जानकारी दिए ।

प्रहरीले खुलाएअनुसार, आलमले यसअघि पनि टीकालाई जबरजस्ती लैजान खोजेका थिए । ‘पहिले पनि युवतीमाथि दबाब दिइरहेको कुरा खुलेको छ,’ डीएसपी रानाले थपे ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार, ती युवक र युवतीबीच पहिले नै केही समयदेखि भेटघाट भइरहेकाले घटना पूर्वनियोजित हुनसक्ने अनुमान गरिएको छ । ‘घटनापछि उनी नजिकैको होटलमा रेडबुल पिएर केही मिनेटमै फरार भएका छन्,’ उनले भने, ‘प्रहरीले उनलाई खोजी कार्य तीव्र बनाएको छ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गोली प्रहार गर्ने युवक भारतीय नागरिक हुनसक्ने अनुमान गरिएको छ । पीडित युवती अहिले बोल्न सक्ने अवस्थामा छन् र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री