बुद्धनगरमा युवतीमाथि गोली प्रहार, दोषीको खोजीमा प्रहरी सक्रिय

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ । रैनादेवी छहरा गाउँपालिका स्थायी घर भई हाल बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विष्टको कम्मरको माथिल्लो भागमा गोली लागेको हो । तत्कालै उद्धार गरी उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ, जहाँ उनको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार घटनाको कारण र दोषीको पहिचान अझै स्पष्ट भइसकेको छैन । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाले प्रारम्भिक अनुसन्धान जारी रहेको र गोली कसले किन चलायो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

यद्यपि, स्थानीयले केही दिनअघि विष्टको एक भारतीय नागरिकसँग विवाद भएको जनाएका छन्, जसले घटनामा सो व्यक्तिको संलग्नताप्रति आशंका बढाएको छ । घटनापछि प्रहरीले घटनास्थलमा पुगेर आवश्यक प्रमाण संकलन गरी अनुसन्धान प्रक्रिया तीव्र बनाएको छ । दोषीको खोजी र कानुनी कारवाहीका लागि प्रहरी सक्रिय रहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री