डोटीमा बन्दुक पड्किँदा युवकको ज्यान गयो, १० जना पक्राउ

काठमाडाैं । डोटीको बडिकेदार गाउँपालिकामा सिकार खेल्ने क्रममा भरूवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । घटना बडिकेदार गाउँपालिका-१ स्थित बर्छेन जंगलमा बिहीबार दिउँसो भएको हो ।

सिकारका लागि गएका केही व्यक्तिहरूमध्ये एक, ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरूवा बन्दुक अचानक पड्किँदा २४ वर्षीय नरेश सार्कीको ज्यान गएको डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माले जानकारी दिए । एसपी शर्माका अनुसार, रुखमा बन्दुकको बट ठोक्किएपछि आकस्मिक रूपमा पड्किएको गोली नरेश सार्कीको दायाँ छातीमा लागेपछि घटनास्थलमै उनको ज्यान गएको हो ।

प्रहरीले घटनापछि अनुसन्धानका लागि घटनास्थलमा रहेका १० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा कमलसिंह खड्का, खेम खड्का (२६), तारासिंह खड्का (५२), तेजेन्द्र भाट (३९), अमर शाह (४०), चक्र भाट (३१), सुनिल बम (१८), गणेशबहादुर घर्ती मगर (३७), मानबहादुर शाह (७१), र जुलेश नामजाली मगर (२६) रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री