गृहमन्त्री लेखकको चेतावनी- संविधान मिच्न खोज्नेलाई क्षमा छैन, सुरक्षा निकाय सतर्क बनून्

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानमाथि आक्रमण गर्न खोज्नेलाई क्षमा नहुने भन्दै सुरक्षा निकायलाई तयार रहन निर्देशन दिएका छन् । शुक्रवार गण्डकी प्रदेशमा आयोजित सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

उनले हाल संविधानमाथि च्यात्ने, फाल्ने र भत्काउने गतिविधि बढिरहेको भन्दै त्यस्ता कार्यहरू सह्य नहुने स्पष्ट पारे । ‘संविधान च्यात्ने र समाप्त पार्ने कोसिसलाई कुनै हालतमा क्षम्य गर्न सकिंदैन,’ मन्त्री लेखकले भने, ‘सुरक्षा निकायका साथीहरू, सतर्क हुनुहोस् ।’

उनले संविधानभित्रै बसेर असहमति जनाउनु लोकतान्त्रिक अधिकार भए तापनि लोकतान्त्रिक गणतन्त्रको संरचनालाई नै नष्ट गर्ने प्रयास स्वीकार्य नहुने बताए । ‘राजनीतिक दल, नेता वा सरकारप्रमुखप्रति आलोचना गर्न पाइन्छ, तर संविधानको अस्तित्व समाप्त पार्ने कुरा कदापि स्वीकार्य हुँदैन,’ उनले थपे ।

मन्त्री लेखकले संविधान निर्माणको प्रक्रियामा देखिएको तीव्रता र बारम्बारको परिवर्तनले देशमा अस्थिरता सिर्जना भएको स्वीकार गरे । तर अहिलेको संविधानलाई संशोधनमार्फत अझ मजबुत बनाउने आवश्यकता औंल्याउँदै उनले भने, ‘संविधान निर्माणमा सहमत भएका शक्तिहरूबीच समझदारीको आधारमा परिवर्तन गर्न सकिन्छ, तर यसको रक्षा आजको मुख्य आवश्यकता हो ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश मातहतमा प्रहरी नहुँदा सरकार सञ्चालनमा कठिनाइ भइरहेको गुनासो गरे । संघीय प्रहरी ऐन मार्फत प्रदेशस्तरीय प्रहरी संरचना निर्माणको आवश्यकता रहेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री