काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवनको भरतपुर जाँदै छन् । नारायणगढ बजारस्थित गोन्द्राङदेखि पुल्चोकसम्म निर्माण सम्पन्न भएको ६ लेनको सडकको उद्घाटन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री चितवन जान लागेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्रीसहित मन्त्रीहरू चितवन जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
भरतपुर महानगरपालिका क्षेत्रभित्र पर्ने यो ६ किलोमिटर लामो सडकमा ४ लेन मुख्य सडकसहित दुवैतर्फ १-१ सर्भिस लेन तयार गरिएको छ । ५० मिटर चौडाइको यो सडक क्षेत्रको बिचमा ३ देखि ४ मिटरको मेडियन, छेउछाउमा नाली तथा ५.५ देखि ६ मिटर चौडा सर्भिस लेन बनाइएको छ । साथै, दुवैतर्फ सडक बत्ती समेत जडान गरिएको छ ।
यो आयोजना प्रधानमन्त्री ओलीकै नेतृत्वमा तेस्रो कार्यकालको बेला सुरु गरिएको हो । उनले २०७७ साल माघ १७ गते यसको शिलान्यास गरेका थिए । सो अवसरमा भरतपुर महानगरकी मेयर रेणु दाहाल भने कार्यक्रममा अनुपस्थित रहेकी थिइन् ।
कुल लागत एक अर्ब ७६ करोड रुपैयाँ रहेको यस परियोजनाले नारायणगढ बजारको ट्राफिक व्यवस्थापन सहज बनाउने अपेक्षा गरिएको छ । उद्घाटनपछि चितवनका नागरिकले सुविधा सम्पन्न सडकमार्ग प्रयोग गर्न पाउने छन् ।




