काठमाडौं – हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा विवादमा तानिएकी छन् । हेटौंडा-४, हुप्रचौरमा स्नातक तहमा अध्ययनरत ९ जना युवाले सुरु गरेको ‘द नाइन्टिन सैलुन’ नामक सैलुनको उद्घाटन वैशाख ३ गते मेयर लामाले गरेकी थिइन् ।
उद्घाटन समारोहमा उनले सैलुनलाई आवश्यक सहयोग गर्ने वाचा गरिन् । सैलुनलाई तालिम केन्द्रको रूपमा पनि विकास गर्ने योजना रहेको सञ्चालकहरुको भनाइ छ। युवाहरुले एक थान एसी र एक थान इन्भर्टर माग गर्दै उपमहानगरपालिकामा निवेदन दिएपछि मेयर लामाले सम्बन्धित जिन्सी शाखालाई तोकआदेश दिएकी थिइन् । यही आदेशपछि सामाजिक सञ्जालमा उनको आलोचना हुन थाल्यो ।
मेयर लामाले आफूले उद्घाटन कार्यक्रममा बोल्नेक्रममा सहयोगको प्रतिवद्धता गरेको स्वीकार गरिन् । ‘युवाहरुले स्वरोजगारको राम्रो पहल गरेका छन्, र मैले उद्घाटन कार्यक्रममा सहभागी भएर उनीहरुको उत्साह बढाएकी हुँ,’ उनले भनिन्, ‘उनीहरुको योजना र प्रतिबद्धता देखेर आवश्यक सहयोग गर्ने इच्छा जनाएकी थिएँ । तर, सहयोगका लागि पनि प्रक्रिया र नियम पालना गर्नुपर्छ ।’
उनका अनुसार, लागतको मूल्याङ्कनपछि मात्र कार्यपालिकाको बैठकबाट निर्णय गरी सहयोग गर्न सकिनेछ । ‘उपमहानगरले कृषकहरुलाई ट्र्याक्टर लगायत उपकरण दिँदै आएको छ, त्यसैगरी स्वरोजगारमा लागेकाहरुलाई पनि सहयोग गर्नु स्वाभाविक हो,’ उनले थपिन् ।
मेयर लामाले आफूलाई निरन्तर आलोचना गर्दै आएको समूहबाट यो विषयलाई उचालिएको दाबी गरेकी छन् । युवाको स्वरोजगारको प्रयासलाई सहयोग गर्न खोज्दा यस्तो आलोचना हुनु दुःखद भएको उनको भनाइ छ ।




