काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिले सरकार नढल्ने स्पष्ट पारेको छ। कांग्रेसले सरकारको स्थायित्व कुनै एक नेताको अभिव्यक्तिमा निर्भर नहुने बताएको हो।
बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरुको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको भविष्य एकजनाको भनाइमा निर्भर नहुने बताए। उनले भने, “प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, त्यसैले उहाँले सरकार ढल्ने भनाउनु स्वाभाविक हो। तर उहाँको भनाइ आधारमा सरकार बनाउने वा भत्काउने होइन।”
पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको र त्यसको परिणामस्वरूप सरकार ढल्न सक्ने संकेत गरेका थिए। साथै उनले पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार हटाउन आफु तयार रहेको तथा देउवालाई फेरि प्रधानमन्त्री बनाउन सकिने अभिव्यक्ति दिएका थिए।
तर कांग्रेसले सरकार अझ सशक्त बनाउने, कार्यसम्पादन (डेलीभरी) सुधार्ने र गठबन्धनबीचको समन्वय अझ सुदृढ बनाउने आवश्यकतामा जोड दिएको छ। प्रवक्ता महतका अनुसार, बैठकमा सहभागी नेताहरूले सरकारको काममा सन्तुलन र तालमेल बढाउनुपर्ने धारणा राखेका थिए।
“सरकार अझ प्रभावकारी हुनु जरुरी छ, गठबन्धनबीच राम्रो समन्वय र सन्तुलन कायम हुनुपर्छ भन्नेमा सबैको जोड थियो,” महतले बताए। साथै, नेताहरूको चासोलाई पार्टी नेतृत्वले गम्भीर रूपमा लिएको र निरन्तर छलफल भइरहेको उनले जानकारी दिए। “जहाँ सुधार र समन्वय आवश्यक छ, त्यहाँ ध्यान दिइनेछ,” महतको भनाइ थियो।
यसरी नेपाली कांग्रेसले सरकारको स्थायित्वबारे प्रचण्डको अभिव्यक्तिलाई सहज रूपमा लिँदै, गठबन्धनलाई मजबुत बनाउन आफुहरू कटिबद्ध रहेको सन्देश दिएको छ।




