काठमाडौं । अमेरिकी संघीय न्यायाधीश जोर्ज बोर्जबर्गले ट्रम्प प्रशासनविरुद्ध अदालतको अपहेलन (contempt of court) प्रक्रिया सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले उक्त चेतावनी एल साल्भाडोरमा दुई सयभन्दा बढी शरणार्थीहरूलाई अदालतको आदेशको अवज्ञा गर्दै डिपोर्ट गरिएको घटनापछि दिएका हुन् ।
अदालतले यस्ता व्यक्तिहरूलाई युद्धको समयमा संरक्षण दिने संवैधानिक प्रावधानअनुसार अमेरिका मै राख्न आदेश दिएको थियो । प्रशासनले २२७ वर्ष पुरानो ऐतिहासिक कानुनी सुरक्षाको व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना भइरहेका बेला बोर्जबर्गले अदालतको आदेश अवज्ञा गर्नु गम्भीर विषय भएको बताए । यो घटनाले ट्रम्प प्रशासन र अमेरिकी न्यायालयबीचको दूरी अझै चर्किएको देखिएको छ ।
यस विषयमा ह्वाइट हाउसले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, ह्वाइट हाउसका सञ्चार निर्देशक स्टेभन चुयङले राष्ट्रपतिको उद्देश्य आतङ्कवादको अन्त्य गर्न रहेको र डिपोर्टसम्बन्धी निर्णय पनि त्यही सन्दर्भमा गरिएको दाबी गरेका छन् ।
न्यायाधीश बोर्जबर्गले प्रशासनलाई २३ अप्रिलसम्मका लागि समय दिएका छन्, जसअन्तर्गत प्रशासनले आफ्नो सम्पूर्ण निर्णय प्रक्रिया अदालतमा स्पष्ट पार्नुपर्नेछ । यदि त्यो समयभित्र जानकारी नआएमा, अदालतको आदेश अवज्ञामा संलग्न व्यक्तिहरूको छानबिन सुरु गरिने उनले स्पष्ट पारे ।




