काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा गृहमन्त्री रमेश लेखकले सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशलाई दिगो शान्ति, सुशासन, समावेशिता र समृद्धितर्फ अघि बढाउन सबैको सहकार्य आवश्यक भएको बताएका छन् ।
सोमबार सार्वजनिक सन्देशमार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सुख, शान्ति, स्वास्थ्य, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्दै मन्त्री लेखकले देशको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउने संकल्प व्यक्त गरे। ‘हामी अहिले समावेशी चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेका छौं,’ सन्देशमा उनले भने, ‘नयाँ वर्षले यो व्यवस्थालाई अझ सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।’
नेपाल विविध जातीयता, भाषा, धर्म र संस्कृतिले भरिएको समाज भएको उल्लेख गर्दै उनले त्यही विविधता नै नेपालको पहिचान र सम्पत्ति भएको बताएका छन् । सन्देशमा मन्त्री लेखकले सामाजिक सद्भाव र सहिष्णुताको महत्वलाई विशेष जोड दिँदै भने, ‘सबै जाति, धर्म, वर्ण, भाषा र भूगोलका नेपालीबीच आपसी सम्मान र सहयोगको भावना विकसित गर्नु अत्यन्त जरुरी छ । यसरी मिलेर मात्र हामीले समृद्ध नेपालको सपना साकार गर्न सक्छौं ।’
नयाँ वर्षसँगै सबै नेपालीको मनमा नयाँ ऊर्जा, आशा र एकताको भावना पलाओस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन् ।




