काठमाडौं । काठमाडौंमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा ‘एडुक्लेभ ३.०’ सम्पन्न भएको छ । वैदेशिक अध्ययन र शैक्षिक परामर्शका विविध पक्षमा केन्द्रित यो कार्यक्रममा नीति, संरचना र सुधारका विषयमा गहन छलफलहरू गरिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि उद्योगमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श संस्थाहरूलाई औद्योगिक क्षेत्रको रूपमा मान्यता दिने विषयमा सरकार सकारात्मक रहेको धारणा राखे। उनले कन्सल्टेन्सीलाई औपचारिक उद्योगका रूपमा अगाडि बढाउने संकेत पनि दिए ।
कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वैदेशिक अध्ययनप्रति बढ्दो आकर्षणलाई नकारात्मक रूपमा नलिन सुझाव दिँदै, शिक्षालाई रोजगारीसँग जोड्न नसक्नु समस्याको जड भएको टिप्पणी गरे ।
इक्यानका प्रथम उपाध्यक्ष एन्ड्रियु पौडेलले शैक्षिक परामर्शलाई “नयाँ संसारमा प्रवेश गर्ने ढोका” का रूपमा परिभाषित गर्दै कानुनी सुधार र निजी क्षेत्रको सक्रियतामा जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले शिक्षा प्रणाली जनअपेक्षा अनुसार नहुनुमा चिन्ता व्यक्त गर्दै, एनओसीको तथ्यांकले सरकारको उत्तरदायित्वको कमी देखाउँछ भन्ने तर्क राखे ।
शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई क्षेत्रीय शैक्षिक केन्द्र बनाउने सम्भावना औंल्याउँदै विदेशी विद्यार्थी भित्र्याउन पूर्वाधार र नीतिगत तयारी आवश्यक रहेको बताए ।
इक्यानका अध्यक्ष शेषराज भट्टराईले वैदेशिक अध्ययनपछि फर्किने विद्यार्थीहरूको ज्ञान र सीपलाई देश विकासमा प्रयोग गर्न सकिनेमा जोड दिँदै, सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा पाँच वटा फरक प्यानल छलफलहरू समेत सम्पन्न भए, जसले वैदेशिक शिक्षा, परामर्श सेवा र सरकारी नीतिका बिचको सम्बन्धलाई थप स्पष्ट बनाएको थियो ।




