काठमाडौं । दुर्गा प्रसाईलाई सरकारी वकिलको कार्यालय लगिएको छ । भारतमा पक्राउ परेका प्रसाईलाई झापाबाट आज काठमाडौं ल्याइएको हो । सरकारी वकिलको कार्यालय ल्याउनुअघि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो ।
त्यहाँ आवश्यक कागजात मिलाएर उनलाई सरकारी वकिलको कार्यालय ल्याएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि आजै जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए । प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता भएको छ ।
राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आजै बिहान झापा ल्याइएको थियो । भद्रपुर विमानस्थल ल्याउनुअघि प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो । उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ । दुवै जनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।




