काठमाडौं । तीनकुने घटनामा संलग्न मुख्य अभियुक्त दुर्गा प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । खड्कालाई झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । नेपाल प्रहरीका अनुसार, संगठित अपराध र राज्यविरुद्धका आरोपमा फरार रहेका प्रसाईंलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो । नेपाल-भारतबीच प्रत्यर्पणसम्बन्धी औपचारिक सन्धि नहुँदा बिहीबार असाम प्रहरीले उनलाई नेपाली पक्षलाई तत्काल हस्तान्तरण गर्न सकेको थिएन । तर शुक्रबार झापाको नाकाबाट वातावरण मिलाई उनलाई नियन्त्रणमा लिइएको हो ।
दुर्गा प्रसाईं यही चैत १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनका प्रमुख संयोजक अर्थात् ‘कमान्डर’ थिए । प्रहरीले घटनामा प्रसाईंको संलग्नता देखिएको भन्दै उनलाई पक्राउ गरेको जनाएको छ ।




