राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण- म अतिथि रहेको कार्यक्रममा किन सहभागी नभएको ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले आफ्नै उपस्थितिमा आयोजित कार्यक्रममा अनुपस्थित रहँदा देखिएको अवहेलनाका कारण ऊर्जा सचिव सुरेश आचार्यसँग २४ घण्टे स्पष्टीकरण माग गरेका छन् ।

गत सोमबार सिँचाइ दिवसको अवसरमा आयोजित कार्यक्रममा सचिव आचार्यलाई मञ्चमा आसन ग्रहण गर्न अनुरोध गरिए पनि उनले सहभागी हुन अस्वीकार गर्दै बेवास्ता गरेका थिए । राज्यमन्त्रीको उपस्थिति रहेको कार्यक्रमलाई अटेरी गर्नुका साथै सचिव आचार्यले ‘आफू बस्न तयार नभएको’ अभिव्यक्ति दिएको भन्दै राज्यमन्त्री तामाङले कडा प्रतिक्रिया जनाएका हुन् ।

राज्यमन्त्रीले पठाएको पत्रमा भनिएको छ, ‘पदीय आचरण उल्लङ्घन गर्दै, सचिव पदको गरिमा र मर्यादामा आँच आउने गरी कार्यक्रम बहिष्कार गर्नुभएको छ । यस्तो कार्य अनुशासनहीनता हो । तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने हो भन्ने स्पष्टिकरण दिनुहोस् ।’

कार्यक्रममा सहभागी नहुनुको पछाडि कुनै प्रभाव, पूर्वाग्रह, वा राज्यमन्त्रीको अवहेलना गर्ने उद्देश्य थियो कि भन्ने पनि प्रष्ट पार्न सचिव आचार्यलाई निर्देशन दिइएको छ । उनले २४ घण्टाभित्र लिखित रूपमा स्पष्टीकरण पेस गर्नुपर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री