काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९, खरंगास्थित पूर्व-पश्चिम राजमार्गमा सोमबार बिहान करिब २:४० बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-२, संगमटोलका ५८ वर्षीय जितबहादुर प्रधान सडक पार गर्दै गर्दा ना ८ ख १८०९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जितबहादुर बा.प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा यात्रारत थिए । गाडी रोकेर शौच गर्न सडक पार गर्दै गर्दा विपरीत दिशाबाट तीव्र गतिमा आएको बसले उनलाई ठक्कर दिएको डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
दुर्घटनामा टाउको, छाती र दाहिने खुट्टामा गम्भीर चोट लागेका प्रधानलाई तुरुन्तै हेटौंडा अस्पताल पुर्याइएको थियो। तर, उपचारको क्रममा बिहान ३:२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
घटनापछि बस चालक धादिङको सिद्धलेक गाउँपालिका-३ निवासी २६ वर्षीय मोहन थापा प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।



