काठमाडौं । नेपाली पत्रकारिता र समाजसेवामा समर्पित एक अतुलनीय नाम, वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी समस्याका कारण उपचाररत रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार राति निधन भएको हो ।
वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा जन्मिएका रिसाल नेपाली मिडिया, समाजसेवा र मानवअधिकारको क्षेत्रमा एक प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्थे । उनले आफ्नो मृत्युपछि शरीर अध्ययनका लागि पाटन अस्पताललाई दान दिने निर्णय गरेर समाजप्रतिको आफ्नो दायित्वलाई अन्तिम घडीसम्म पुरा गरे ।
भैरव रिसालले रेडियो सगरमाथामा लामो समय लोकप्रिय कार्यक्रम ‘उहिले बाजेका पालामा’ सञ्चालन गर्दै नेपाली इतिहास, संस्कृति र जनजीवनलाई जीवन्त बनाएका थिए । उनी वामपन्थी विचारधारामा विश्वास राख्ने व्यक्ति थिए र २०४८ सालको आम निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट भक्तपुरमा उम्मेदवार समेत बनेका थिए ।
उनको पत्रकारिता यात्रा राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको जिम्मेवारीबाट अझ सशक्त बनेको थियो । राससमा प्रवेश गर्नु अगाडि उनले तथ्याङ्क विभागमा पनि योगदान दिएका थिए । उनका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ र आत्मकथात्मक पुस्तक ‘भैरव दाइ’ लगायत कृति प्रकाशित छन् ।
रिसालले मानवअधिकार, वातावरण संरक्षण र साहित्यिक योगदानका लागि ‘जगदम्बा श्री’ लगायत विभिन्न पुरस्कार प्राप्त गरेका थिए। पत्रकारिता र समाजसेवाको यो उज्यालो तारा अस्ताए पनि उनले दिएका सन्देश र योगदान सधैँ नेपाली समाजमा उज्यालो बनिरहनेछन् । उनले श्रीमती, दुई छोरा र दुई छोरीलाई पारिवारिक उत्तराधिकारस्वरूप छाडेका छन् ।



