मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समस्याको समाधान संविधानभित्र रहेर खोज्नुपर्नेमा जोड दिएका छन्। मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण हुन लागेको ‘बूढगङ्गा पार्क’को बिहीबार शिलान्यास गर्दै उनले शान्तिपूर्ण आन्दोलनको अधिकार सबैलाई सुरक्षित रहेको धारणा राखे।
डा. कोइरालाले समस्याको समाधानका नाममा कुनै पनि प्रकारको हिंसा, आतङ्क, तोडफोड र आगजनीलाई स्वीकार गर्न नसकिने बताए। साथै, उनले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन गर्नुपर्ने माग गरे।
लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई सुदृढ र दिगो बनाउन राजनीतिक दलहरूभित्र सुधार आवश्यक रहेको उनले औंल्याए। ‘कांग्रेस र नेकपा (एमाले) मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक समृद्धि, सुशासन तथा रोजगारी सिर्जनाका विषयमा गम्भीर हुनुपर्छ,’ उनले भने ।
बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पार्क निर्माण गर्न लागिएको जानकारी दिए। सिङ्गिया खोलाको किनारमा चार विघा क्षेत्रफलमा रु २१ करोड लागतमा निर्माण गरिने पार्क भविष्यमा स्थानीय पर्यटन प्रवर्द्धनको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।



