काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई प्रवर्द्धन गर्दै सरकारले ऊर्जा क्षेत्रको विकासलाई तीव्रता दिने नीति अपनाएको बताएका छन् । ताप्लेजुङको तमोर नदीमा निर्माण हुन लागेको २८५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि टनेल बोरिङ मेसिन प्रयोगबारे चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीसँग भएको सम्झौताका क्रममा उनले कानुनी सुधारमार्फत निजी क्षेत्रलाई अनुकूल वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री खड्काका अनुसार सरकारले निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्दै, उच्च कर संकलनमार्फत मुलुकलाई समृद्ध बनाउने नीति लिएको छ । साथै, सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उल्लेख गर्दै उनले आधुनिक प्रविधि, जस्तै टनेल बोरिङ मेसिनको प्रयोगले परियोजनाहरूलाई छिटो सम्पन्न गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस्ता आयोजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने उनको धारणा थियो ।
सरकारले गरिब तथा विपन्न वर्गलाई जलविद्युत् आयोजनामा सहभागी गराउन शेयर योजना ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले निजी क्षेत्रलाई समेत यसमा आबद्ध हुन आह्वान गरे । उनले देशको समृद्धि एकल वर्ग वा समुदायको हितमा सीमित हुन नसक्ने उल्लेख गर्दै समग्र राष्ट्रको विकासमा सबैको समान पहुँच हुनुपर्ने बताए ।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालपछिको नीतिगत सुधारका कारण ऊर्जा क्षेत्रमा तीव्र विकास भइरहेको बताए । उनले तमोर आयोजनाको सफलताले ताप्लेजुङ, कोशी प्रदेश तथा समग्र देशलाई आर्थिक लाभ पुग्ने उल्लेख गरे ।
तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले वर्तमान लोडसेडिङ अन्त्यका लागि यो आयोजना प्रभावकारी हुने विश्वास व्यक्त गरे । रु ५१ अर्बको लगानीमा आगामी चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण भइरहेको आयोजनामा लगानीकर्ता, सार्वजनिक शेयर, बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको जानकारी दिए ।
चाइना रेल्वे इञ्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले परियोजना निर्धारित समयमै सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको बताए । उनले आफ्नो कम्पनीले नेपालमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै हालसम्म एक सयभन्दा बढी जलविद्युत् आयोजना सम्पन्न गरिसकेको जानकारी गराए ।




