काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक वृद्धि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पछिल्ला केही दिनमा नेपाल विश्वकै अति प्रदूषित देशहरूमध्ये पर्ने देखिएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।
वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार, वायु प्रदूषणको स्तर ३४८ सम्म पुगेको छ, जुन ‘खतरनाक’ श्रेणीमा पर्छ। एक्यूआई मापदण्ड अनुसार, शून्यदेखि ५० सम्म वायु स्वच्छ मानिन्छ भने ३०० भन्दा माथि ‘खतरनाक’ मानिन्छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, हालको वायु प्रदूषणले दम, फोक्सोका समस्या, आँखाको जलन, एलर्जी, छाला रोग, हृदय रोग लगायत दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ। विशेष गरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा दीर्घरोगीलाई अझ बढी जोखिम रहने भएकाले उनीहरूलाई विशेष सतर्कता अपनाउन सुझाव दिइएको छ।
मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, यात्रा गर्दा मास्कको अनिवार्य प्रयोग गर्न तथा वायु प्रदूषणको उच्च जोखिम भएका स्थानहरूमा नजान नागरिकलाई अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायु प्रदूषणको बढ्दो असरलाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई तत्काल कदम चाल्न निर्देशन दिएको छ। वन डढेलो, सडक निर्माण तथा औद्योगिक गतिविधिहरू वायु प्रदूषण बढ्ने प्रमुख कारण भएको उल्लेख गर्दै प्राधिकरणले सबैलाई आफ्नो क्षेत्रबाट सक्दो योगदान दिन आग्रह गरेको छ।
सार्वजनिक यातायातको प्रयोग बढाउने, फोहरको उचित व्यवस्थापन गर्ने, निर्माण कार्यमा धुलो नियन्त्रण गर्ने तथा वन डढेलो नियन्त्रण गर्न पहल गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। साथै, नागरिकलाई मास्कको नियमित प्रयोग गर्न, व्यक्तिगत सरसफाइमा ध्यान दिन तथा स्वास्थ्य सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरिएको छ।
सरकारले वायु प्रदूषण न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न आवश्यक रणनीति अघि बढाउने जनाएको छ। नागरिकस्तरबाट पनि सचेतना अपनाइयो भने वायु प्रदूषण न्यूनीकरणमा टेवा पुग्ने विज्ञहरूको भनाइ छ।




