भारत सरकारको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी–पत्रमा हस्ताक्षर

काठमाडौं । नेपालमा शिक्षा, स्वास्थ्य र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १० वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको लागि भारत सरकारको अनुदान सहयोग प्राप्त भएको छ। यस परियोजनालाई अघि बढाउन काठमाडौँस्थित भारतीय दूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा परियोजना कार्यान्वयन एजेन्सीहरूले समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

भारतको सहयोगमा नेपालमा कुल ६२ करोड पाँच लाख लागतमा सञ्चालन गरिने यी परियोजनाहरू शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक प्रवर्द्धनमा केन्द्रित रहनेछन्। दूतावासका अनुसार, नेपाल सरकारका स्थानीय निकाय— महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामार्फत यी परियोजनाहरूको कार्यान्वयन गरिनेछ।

यी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले नेपाली जनतालाई गुणस्तरीय शैक्षिक सुविधा, प्रभावकारी स्वास्थ्य सेवा तथा सांस्कृतिक संरक्षणका अवसरहरू उपलब्ध गराउने अपेक्षा गरिएको छ।

भारतले सन् २००३ देखि हालसम्म नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूमा काम गरिसकेको छ। यस अवधिमा नेपालका सातै प्रदेशका विभिन्न स्थानहरूमा शिक्षा, स्वास्थ्य, सडक तथा पुल निर्माण, नदी तटबन्ध, खानेपानी, विद्युतीकरण, सिँचाइ, समाज कल्याण तथा सार्वजनिक सेवाका लागि ४९५ परियोजनाहरू पूरा भइसकेका छन् भने अन्य परियोजनाहरू विभिन्न चरणमा रहेका छन्।

यी परियोजनाहरूले नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्दै स्थानीयस्तरमा प्रत्यक्ष रूपमा लाभ पुर्‍याउने विश्वास गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री