काठमाडौं । चर्चित अभिनेता राजेश हमालले उमेरभन्दा कलाकारको अभिनय र पात्र निर्वाहलाई महत्त्व दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको कार्यक्रममा हमालले उमेरले कलाकारितालाई सीमित नगर्ने बताए । ‘मेरो उमेर कति भयो भन्नेभन्दा पनि मैले निभाउने पात्रमा कस्तो देखिएको छु भन्ने विषयमा चर्चा हुनु पर्छ,’ हमालले स्पष्ट पारे ।
उनका अनुसार, पर्दामा उमेरभन्दा अभिनय प्रधान हुन्छ, र कलाकारितामा कुनै निश्चित उमेरसीमा तय गरिएको छैन । आठ वर्षपछि चलचित्रमा फर्किएका हमालले ‘नरसिंहा अवतार’ को कथा र आफ्नो भूमिकाले उनीलाई पुनः अभिनयमा आकर्षित गरेको बताए । उनले सह-कलाकारहरूको मेहनत र समर्पणको पनि प्रशंसा गरे ।
चलचित्रकी मुख्य अभिनेत्री नीति शाहले अनुभवी कलाकारहरूसँग काम गर्ने अवसर पाउनु आफ्नो करिअरका लागि लाभदायक रहेको बताइन् । ‘राजेश दाइसँग काम गर्न पाउँदा म अत्यन्तै उत्साहित छु,’ उनले भनिन्. ‘उहाँको अनुभवले मलाई धेरै सिक्न मद्दत गर्यो, हामी पात्रअनुसार चलचित्रमा सुहाएको अनुभव गरेका छौँ ।’
दिवाकर भट्टराई निर्देशित ‘नरसिंहा अवतार’ आगामी वर्ष २०८२ जेठ ९ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रमा हमाल र शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहनेछ ।



