काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत विद्यापुर जनता बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका चेतन नेपाली निर्वाचित भएका छन् । सोमबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सार्वजनिक नतिजा अनुसार ३ सय ४० मतदातामध्ये २ सय ९७ जनाले मतदान गरेका थिए ।
सभापति पदमा नेविसंघका चेतन नेपाली १ सय ५३ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका जनक विष्ट १ सय ३६ मतमा सीमित रहे । सचिव पदमा अनेरास्ववियुका हार्दिक भण्डारीले १ सय ५६ मत ल्याएर जित दर्ता गरे । नेविसंघकी शिक्षा थापा १३२ मतका साथ दोस्रो स्थानमा रहिन् ।
कोषाध्यक्षमा नेविसंघकी कल्पनाकुमारी थापाले १ सय ५२ मत प्राप्त गर्दै विजय हासिल गरिन् भने अनेरास्ववियुकी अस्मिता कँडेल १ सय ३४ मतमै रोकिइन् । सदस्य पदमा नेविसंघका दिलीप माझी (१३९ मत) र विमल शाक्य (१३७ मत) निर्वाचित भए । उनका प्रतिस्पर्धी डम्मर खत्रीले १३२ तथा राजेन्द्र सुनारले १ सय १५ मत प्राप्त गरे ।
यता, मध्यपश्चिम विश्वविद्यालयमा सोमबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को मतगणना जारी छ । जारी मतगणना अनुसार ८८१ मत गणना हुँदा नेपाल विद्यार्थी संघले अग्रता लिएको छ । नेविसंघका विवेक खड्काले १ सय ५२ मतान्तर कायम गरेका छन् । खड्काले कुल ३ सय ९६ मत प्राप्त गर्दा अनेरास्ववियुका जगतजंग शाहीले २ सय ४४ मत प्राप्त गरेका छन् । कुल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ मत खसेको थियो ।




