सामसङ ग्यालेक्सी ए शृंखलाका फाइभजी फोन बजारमा, मूल्य कति?

काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको छ। पहिलो पटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरिएको कम्पनीले दाबी गरेको छ।

ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ। यसले ग्राहकहरुलाई धेरै विकल्पहरु प्रदान गर्ने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए। उनले नयाँ ग्यालेक्सी सिरिज फोनहरुले ग्यालेक्सीको अविश्वसनीय मोबाइल एआईको अनुभवलाई ठूलो दर्शकमाझ ल्याएर सबैका लागि एआई भन्ने सोचतर्फ एउटा महत्त्वपूर्ण पाइला सारेको उल्लेख गरे।

यी फोनहरू वान यूआई७ द्वारा सञ्चालित र उन्नत इन्टेलिजेन्सयुक्त रहेको कम्पनीले बताएको छ। ग्यालेक्सी ए सिरिजका फोनहरुमा अघिल्लो वर्ष चर्चित गुगलको ‘सर्कल टु सर्च’ विशेषता थप उन्नत भई आएको छ। जसले फोन स्क्रिनबाट सजिलै खोज्न मिल्ने भएको छ।

अब, ‘सर्कल टु सर्च’ले स्क्रिनमा देखिएको नम्बर, इमेल ठेगाना, वा यूआरएल सजिलै पहिचान गर्न सक्छ, जसले प्रयोगकर्ताले एक ट्यापमा नै कार्य पूरा गर्न सजिलो बनाइदिएको छ। ‘सर्कल टु सर्च’ले गीतहरू पनि तत्काल पहिचान गर्न सक्छ। सामाजिक सञ्जाल वा वरपर बजिरहेको गीतलाई सजिलै चिन्नका लागि नेभिगेसन बार लामो प्रेस गरेर ‘म्यूजिक बटन’ ट्याप गर्दा गीतको नाम र कलाकार तुरुन्तै देखाइनेछ।

ग्यालेक्सी ए सिरिजमा अब थप उत्कृष्ट सर्जक केन्द्रित क्यामेरा प्रविधि समावेश छ। सबै डिभाइसहरूमा ५०एमपी मुख्य क्यामेरा दिइएको छ। साथै ग्यालेक्सी ए५६ फाइभजी र ए३६ फाइभजीमा १० बिट एचडीआर फ्रन्ट क्यामेरा छ। यसले उज्यालो र स्पष्ट सेल्फी लिन सकिन्छ। ग्यालेक्सी ए५६ फाइभजीमा १२एमपी अल्ट्रा-वाइड लेन्स दिइएको छ।

‘बेस्ट फेस’ विशेषता ग्यालेक्सी ए५६ फाइभजीमा मात्र उपलब्ध छ, जसले समूह फोटोहरूमा सबैको उत्कृष्ट अभिव्यक्ति छनोट गरी उत्तम तस्बिर बनाउँछ। ‘नाइटोग्राफी’ प्रविधिको सुधारसँगै, ग्यालेक्सी ए५६ फाइभजीमा १२ एमपी सेल्फी क्यामेरामा ‘लो न्वाइज मोड’ थप गरिएको छ, जसले न्यून प्रकाशमा अझ राम्रो फोटो खिच्न मद्दत गर्दछ।

यी फोनमा रहेको अब्जेक्ट इरेजर सुविधाले प्रयोगकर्ताहरूलाई फोटोबाट अनावश्यक वस्तुहरू हटाउन मद्दत गर्दछ। चाहे त्यो अनपेक्षित व्यक्तिहरू हुन् या ध्यान भंग गर्ने छायाँहरू, प्रयोगकर्ताहरूले वस्तुहरूलाई म्यानुअली वा स्वचालित रूपमा मेटाउन सक्छन्, र केही ट्यापहरूमा सफा र परिष्कृत फोटो प्राप्त गर्न सक्छन् । त्यस्तै गरी, फिल्टर्सले प्रयोगकर्ताहरूलाई मोबाइलमा भएको फोटोहरूबाट रंग र शैलीहरू निकालेर आफ्नै फिल्टरहरू बनाउन मद्दत गर्दछ।

ग्यालेक्सी ए सिरिजमा अब ६ पुस्तासम्मको एन्ड्रोइड ओएस र वान यूआई अपडेट उपलब्ध हुनेछ। साथै ६ वर्षसम्म सुरक्षा अपडेटहरू दिइनेछ । यसले मोबाइलको जीवनचक्रलाई लामो बनाउनुका साथै ग्राहकहरुलाई धेरै वर्षसम्म सरल तरिकाले भरपर्दो मोबाइलको अनुभव प्रदान गर्नेछ। ग्यालेक्सी ए५६ फाइभजी र ए३६ फाइभजीमा ६.७ इन्च एफएचडी प्लस सुपर अमोलेड डिस्प्ले समावेश गरिएको छ, जसको ब्राइटनेस १२०० निट्ससम्म पुग्न सक्छ। स्टेरियो स्पिकरले ध्वनि अनुभवलाई अझ उत्कृष्ट बनाउँछ।

नयाँ ग्यालेक्सी ए सिरिजमा ५००० एमएएच ब्याट्री समावेश गरिएको छ। ग्यालेक्सी ए५६ फाइभजी र ए३६ फाइभजीले ४५ वाट चार्जिङ पावर र सुपर-फास्ट चार्जिङ २.० समर्थन गर्छ। ग्यालेक्सी ए५६ मा फाइभजी एक्जिनोज १५८० चिपसेट र ग्यालेक्सी ए३६ फाइभजीमा स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर प्रयोग भएको छ। दुवै मोबाइलहरुमा शक्तिशाली ठूलो भेपर च्याम्बर प्रयोग भएकोले गेम खेल्न, लामो समय भिडियो हेर्न र मल्टिटास्क गर्न सजिलो भएको छ ।

पहिलो पटक ग्यालेक्सी ए२६ फाइभजीमा आईपी६७ धुलो र पानी प्रतिरोध क्षमता छ। यसले ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए५६ फाइभजीको आईपी६७ रेटिङसँग मेल खान्छ। साथै, उन्नत कर्निङ ग्लास कभर सामग्रीले स्क्र्याच र चर्किने समस्याबाट समाधान प्रदान गर्दै थप सुरक्षाको तह प्रदान गर्छ।

यी फोनहरूमा नयाँ वान यूआई ७ को साथ सामसङ नक्स भल्ट प्रविधिले ग्यालेक्सी ए सिरिजमा बलियो सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ। यसले चोरी पत्ता लगाउने प्रविधि, विस्तारित सुरक्षा सेटिङ्स र अन्य सुरक्षा विशेषताहरू प्रदान गर्ने कम्पनीले जनाएको छ।

मूल्य कति?
कम्पनीका अनुसार ग्यालेक्सी ए५६ फाइभजी १२जीबी/२५६ जीबीको ७० हजार ९९९ रुपैयाँ, ८जीबी/२५६ जीबीको ६५ हजार ९९९ रुपैयाँ रहेको छ।

त्यसैगरी ग्यालेक्सी ए३६ फाइभजी १२ जीबी/२५६ जीबीको ५९ हजार ९९९ रुपैयाँ र ८जीबी/२५६ जीबीको ५४ हजार ९९९ रुपैयाँ तथा ८जीबी/१२८ जीबीको ४८ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ।

यता ग्यालेक्सी ए२६ फाइभजी ८जीबी/२५६ जीबीको मूल्य ४५ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको छ।

यी सबै फोनहरु सामसङ नेपालका आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यी फोन किन्दा ग्राहकले शून्य ब्याजदरमा किस्ता सुविधा समेत पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री