काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीका घटनाबाट प्रभावित क्षेत्रको अनुगमनमा निस्कदैछन् । गृह मन्त्रालयका अनुसार गृहमन्त्री लेखक शनिबार अनुगमनका लागि तीनकुने जाने कार्यक्रम तय भएको हो ।
शुक्रबार संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा पूर्वराजाका समर्थकहरूले प्रदर्शन गरेका थिए । सोही क्रममा तीनकुनेलगायतका क्षेत्रमा भवन, पार्टी कार्यालय र सवारीसाधनमा तोडफोड तथा आगजनी गरिएको थियो । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सुरक्षा निकायले हस्तक्षेप गरेको थियो । प्रदर्शनका दुई जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति घाइते भएका छन् ।
सरकारले प्रदर्शन हिंसात्मक मोड लिएको भन्दै कडा सुरक्षा सतर्कता अपनाउने बताएको छ । यसै क्रममा गृहमन्त्री लेखकले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न लागेका हुन् । गृह मन्त्रालयका अनुसार उनले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरी परिस्थितिको समीक्षा गर्नेछन् ।




