काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको छ । दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति एवम् नागरिक बचाऊ महाअभियानअन्तर्गत भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडप र आगजनीको घटनाले त्रासदी निम्त्याएको छ ।
प्रदर्शनका क्रममा भएको झडपमा कीर्तिपुर नगरपालिका-४ गाम्चाका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको छ । प्रहरीका अनुसार उनको छातीमा गोली लागेको थियो । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पताल पुर्याइएका महर्जनलाई चिकित्सकले अपराह्न ४ बजे मृत घोषित गरेका छन् । अहिले उनको शव पोस्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ ।
त्यसैगरी, प्रदर्शनकै क्रममा भएको आगजनीमा एकजना पत्रकारको मृत्यु भएको छ । राजावादी समूहले काठमाडौंको तीनकुनेस्थित एक भवनमा प्रहरी बसेको आशंका गर्दै आगो लगाएका थिए । सोही आगलागीमा परेर एभिन्यूज टेलिभिजनका क्यामेरा म्यान सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । तर, प्रहरी प्रशासनले उनको विस्तृत विवरण औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
मार्बल हाउस नामक उक्त भवनमा प्रदर्शनकारीले ढुंगा प्रहार गरेर सिसा फुटाइदिएको थियो । झडपपछि आगजनी हुँदा रजक सोही भवनमा रहेका कारण जलेर मृत्यु भएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने कार्य जारी राखेको छ ।




