काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वमा शुक्रबार आयोजित राजसंस्था पुनर्स्थापनाको आन्दोलन हिंसात्मक मोडमा पुगेको छ । तीनकुने क्षेत्रमा भएको प्रदर्शन प्रहरीसँगको झडपमा परिणत हुँदा निजी घर, सञ्चार गृह र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनीका घटना भएका छन् ।
प्रदर्शनको नेतृत्व प्रसाईँ स्वयंले गरेका थिए। उनी गाडी लिएर प्रहरी टोलीतर्फ अघि बढेपछि प्रदर्शनकारी झडपमा उत्रिएका थिए। उनलाई आज फिल्ड कमान्डरको भूमिका दिइएको थियो ।
हिंसा चर्किएपछि प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन, अन्नपूर्ण पोस्टसहित विभिन्न सञ्चार गृहमा तोडफोड गरेका छन्। कोटेश्वरस्थित जडिबुटी कारखानामा आगजनी हुँदा आधा दर्जनभन्दा बढी गाडी जलेका छन्। आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आएको छैन।
त्यस्तै, पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयनजिकै सरकारी नम्बर प्लेट भएको गाडी जलाइएको छ। बालकुमारी क्षेत्रमा पनि गाडी जलाइएको खबर आएको छ। कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा लुटपाट र तोडफोड भएको छ। सामाजिक सञ्जालमा प्रदर्शनकारीहरू हातमा बियरको बोतल बोकेर हिंडेको तस्बिरहरू भाइरल भएका छन्।
स्थिति नियन्त्रण गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपराह्न ४:२५ बजेदेखि तीनकुने र आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।




