तीनकुनेमा स्थिति तनावग्रस्त, प्रहरीले गर्‍यो हवाई फायर

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि अवस्था तनावग्रस्त बनेको छ ।

प्रदर्शनका लागि तोकिएको घेरा तोड्न प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा समेत प्रहार गरेका छन् प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । राजावादीहरूको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । पछि हवाई फायर गरेको हो ।

राजावादीहरूको प्रदर्शन बिथोलिएपछि नेताहरू कार्यक्रमस्थल छाडेर तीनकुनेबाट बाहिरिएका छन् । विभिन्न ठाउँबाट र्‍यालीसहित तीनकुने आएर सभामा परिणत हुने भनिए पनि पहिले नै भीड भड्किएको हो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।

प्रसाईले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । गठनसँगै उक्त समिति विवादमा तानिएको थियो । राप्रपाका अध्यक्ष लिङ्देनले आफू उक्त समितिमा नरहेको जनाएका थिए ।

राप्रपाको कार्यसम्पादन समितिको बैठकले राप्रपा आफैंले आन्दोलन गर्ने कुनै व्यक्ति विशेषको नेतृत्वमा पार्टीलाई नलैजाने निर्णय लिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री