लक्ष्मी स्टिल्समा एनआईबीएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं । एनआईएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआईबीएल इक्विटी पार्टनर्सले लक्ष्मी स्टिल्स लिमिटेडमा लगानी गर्ने भएको छ। दुई पक्षबीच यससम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतामा मंगलबार एनआइएमबि एस क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल र लक्ष्मी स्टिल्सका निर्देशक बिमल कुमार सावरथियाले हस्ताक्षर गरेका छन्।

यस साझेदारीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिन थप मद्दत गर्ने कम्पनीले जनाएको छ। सन् २००८ मा सौरभ ग्रुपअन्तर्गत स्थापना भएको लक्ष्मी स्टिल्स लिमिटेड, टीएमटी रड, ब्लेड र रिब्ड तारहरूको प्रमुख उत्पादक कम्पनीको रुपमा छ। नवलपरासीको सुनवलमा अत्याधुनिक स्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उच्च गुणस्तरको स्टिल उत्पादनगर्न प्रतिबद्ध रहिआएको छ।

यस सम्झौताले नेपालको पूर्वाधार तथा आर्थिक वृद्धिमा अझ बढी योगदान पुर्‍याउन सफल हुने कम्पनीको विश्वास छ। एनआईबीएल इक्विटी पार्टनर्सबाट गरिएको यो लगानीले लक्ष्मी स्टिल्सको उत्पादन क्षमतालाई सुधार गर्न, उत्पादन दक्षता बढाउन र यसको बजार पहुँच विस्तार गर्न सशक्त सहयोग पुर्‍याउने कम्पनीले उल्लेख गरेको छ।

एनआइएमबी एस क्यापिटलका अध्यक्ष टिवडेवालले लक्ष्मी स्टिल्स लिमिटेडसँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए। ‘एनआईबीएल इक्विटी पार्टनर्स आर्थिक वृद्धिमा योगदान पुर्‍याउने तथा त्यस्ता आर्थिक वृद्धि गर्न सहयोग पुर्‍याउने सशक्त व्यवसायहरूलाई समर्थन गर्न प्रतिबद्ध रहेको छ’, उनले भने, ‘यस लगानीको साथ हामी लक्ष्मी स्टिल्सलाई नयाँ उचाइमा पुर्‍याउन र नेपालको पूर्वाधारको मेरुदण्डलाई मजबुत बनाउन मद्दत गर्ने उद्देश्य राख्छौँ।’

लक्ष्मी स्टिल्स लिमिटेडका निर्देशक सावरथियाले एनआईबीएल इक्विटी पार्टनर्ससँगको यो साझेदारी एक सुनौलो अवसर रहेको बताए। ‘उहाँहरुको विशेषज्ञता र पुँजीले हामीलाई कम्पनीको क्षमता विस्तार गर्न र नेपालको आर्थिक विकासमा योगदान गर्न थप मद्दत गर्नेछ । यसका साथसाथै हामी स्टील उद्योगको लागि एक बलियो भविष्य निर्माण गर्दै छौँ’, उनले भने।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री