काठमाडौं । सिरहामा बोरामा हालेर खोला किनारमा गाडिएको अवस्थामा एक जनाको शव भेटिएको छ । सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित घुर्मी खोला किनारमा बोराभित्र राखेर गाडिएको अवस्था शव भेटिएको मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।
मंगलबार बिहान १० बजेतिर गोठालोहरूले दुर्गन्ध फैलिएको र त्यहाँ हाड हेरेपछि प्रहरीलाई खबर गरेका थिए । सव कुहिसकेको अवस्थामा रहेको डीएसपी बाखुले बताएका छन् । ‘शव सडेको अवस्थामा फेला परेको छ । त्यसकारण शव कसको हो भन्ने पहिचान गर्न कठिन छ,’ उनले भने, ‘शव परीक्षणका लागि अस्पताल पठाउने तयारीमा छौं ।’
घटनास्थलमा प्रहरी टोली पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताएका छन् । प्रहरीका अनुसार केही दिन अघिदेखि गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन हराइरहेकी छन् । उनको खोजी कार्य भइरहे पनि अहिलेसम्म फेला पर्न नसकेको प्रहरीले जनाएको छ ।




