उपायले १.२ अर्ब लगानीमा आधुनिक वेयरहाउस बनाउने, माछापुच्छ्रे बैंकको नेतृत्वमा ऋण व्यवस्थापन

काठमाडौं । नेपालको लजिस्टिक्स क्षेत्रमा महत्वपूर्ण फड्को मार्दै, उपायले देशकै पहिलो थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस सेवा सुरू गर्ने घोषणा गरेको छ। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३, साँगामा कम्पनीले अत्याधुनिक वेयरहाउस निर्माण गर्न लागेको हो।

काठमाडौंमा आयोजित एक कार्यक्रममा, उपायले यो परियोजनाको अनुमानित लागत १ अर्ब २० करोड रुपैयाँ रहेको जानकारी गराएको छ। यसमध्ये ९५ करोड रुपैयाँ सहवित्तीयकरण कर्जाको रूपमा व्यवस्थापन गरिएको छ। कर्जा व्यवस्थापन सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा माछापुच्छ्रे बैंकको सहकार्यमा गरिएको हो।

सिटिजन्स बैंकले ६० करोड रुपैयाँ (५० करोड आवधिक कर्जा, ५ करोड बैंक ग्यारेन्टी, ५ करोड क्यास क्रेडिट) लगानी गर्नेछ भने, माछापुच्छ्रे बैंकले ३५ करोड कर्जा प्रदान गर्नेछ। बाँकी रकम प्रवद्र्धक तथा अन्य लगानीकर्ताबाट संकलन गरिनेछ, जसमा डोल्मा इम्प्याक्ट फण्ड–२ लगायतका संस्थाहरूले स्वपुँजीमा लगानी गर्नेछन्।

उक्त वेयरहाउस १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण हुनेछ, जसको ४५,००० वर्गफुट ग्राउन्ड कवरेज रहनेछ। यसले बिल्ट–टु–सूट, ई–कमर्स, खुद्रा व्यापार, वस्त्र, जुत्ता, सौन्दर्य सामग्री, अटो पार्ट्स लगायतका सामग्रीहरूको भण्डारण सेवा प्रदान गर्नेछ।

ग्रेड ए प्री–इन्जिनियरड संरचनामा निर्माण गरिने यो वेयरहाउस भूकम्प प्रतिरोधी डिजाइन, हाई डेन्सिटी र्याकिङ, मल्टी–टायर सेल्भिङ, तथा बिल्ट–टु–सूट सुविधाले सुसज्जित रहनेछ। निर्माण कार्य २०२५ अप्रिलदेखि सुरू भई २०२६ को अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा उपायका सह–संस्थापक रञ्जीव श्रेष्ठले नेपालको कुल गार्हस्थ उत्पादनको २० प्रतिशत खर्च लजिस्टिक्स क्षेत्रमा हुने गरेको उल्लेख गर्दै प्रविधि, पूर्वाधार, र दक्षता सुधारमार्फत लागत घटाउने उद्देश्य रहेको बताए।

नेपाल बैंकर्स संघका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी सन्तोष कोइरालाले देशमा लगानीयोग्य रकम पर्याप्त भए पनि यस्ता ठूला परियोजनाको अभाव रहेको बताए। साथै, उपायको यस कदमले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरे।

डोल्मा फन्ड, प्रगति इन्ट्रा सोलुसन्स, विभिन्न बैंक तथा विकास संस्थाका प्रतिनिधि, लगानीकर्ता, र सम्भावित ग्राहकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा, लजिस्टिक्स क्षेत्रको आधुनिकरण र व्यावसायिकरणतर्फको यात्रामा उपायले नयाँ युगको सुरुवात गरेको संकेत दिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री