काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले विगतमा जारी भएका बीमा सम्बन्धी निर्देशनहरूलाई एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘बीमा क्षेत्रको अबको बाटो’ विषयक अन्तर्क्रियामा बोल्दै अध्यक्ष ओझाले बीमा कम्पनीहरूले प्राधिकरणबाट जारी विभिन्न निर्देशनहरूलाई एकीकृत रुपमा उपलब्ध गराउन गरेको मागलाई सम्बोधन गर्दै प्राधिकरणले आवश्यक पहल गरिरहेको जानकारी दिए।
उनले प्राधिकरणमा नियुक्त भएको केही दिनमै निर्देशनलाई एकीकृत गर्ने उद्देश्यसहित विशेष कमिटी गठन गरी काम सुरु गरिएको बताए। नियमावलीमा परेका विषयहरूलाई निर्देशनबाट हटाउने र आवश्यक परिमार्जन गरी अद्यावधिक गर्ने कार्य अघि बढिसकेको उनले स्पष्ट पारे।
यस कार्यलाई आगामी दुई महिनाभित्र सम्पन्न गरी बीमा कम्पनीहरूलाई सहजता प्रदान गर्ने उनको योजना रहेको छ। बीमा उद्योगको स्थायित्व र हित सुनिश्चित गर्न सम्पूर्ण सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको उनको धारणा थियो।
अध्यक्ष ओझाले बीमा कम्पनीहरूको वित्तीय सुदृढीकरण बीमितहरूको सुरक्षासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गर्दै, बीमा कम्पनीहरूलाई मजबुत बनाउन आवश्यक सहजीकरण गर्न प्राधिकरण तयार रहेको बताए। साथै, उनले बीमा उद्योगको समग्र विकासका लागि समावेशी नीति अवलम्बन गर्दै अघि बढ्नुपर्नेमा विशेष जोड दिए।




