काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपालमा हाल पर्याप्त बिजुली उपलब्ध नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र विद्युत प्राधिकरणबीचको विवादले पनि देशमा उर्जा अभाव रहेको स्पष्ट पार्ने बताए।
उनले नेपालमा अझै पनि लोडसेडिङ हुनसक्ने विषयमा भइरहेको बहसलाई संकेत गर्दै, अहिलेको बिजुली आपूर्ति घरेलु उपभोग मात्र होइन, उद्योग क्षेत्रलाई पनि धान्न अपर्याप्त रहेको उल्लेख गरे।
उनका अनुसार उद्योग तथा जलविद्युत क्षेत्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न उत्पादनमा उल्लेखनीय वृद्धि आवश्यक छ। कार्कीले जलविद्युत क्षेत्रमा लगानीकर्ता दिनप्रतिदिन बढिरहेको र सरकारको २८,५०० मेगावाट उत्पादन गर्ने लक्ष्य अनुसार अघि बढ्नुपर्ने बताए।
उनले जलविद्युत क्षेत्रमा लगानी प्रवर्द्धन गर्न सकिए नेपालमै पर्याप्त रोजगारी सिर्जना गर्न सकिने र आत्मनिर्भर बन्न सक्ने धारणा राखे।
कार्कीले भने, ‘आज हामी लोडसेडिङ हुन्छ कि हुँदैन भन्ने बहसमा छौं। हामीसँग पर्याप्त मात्रामा बिजुली छैन भन्ने बुझ्न जरुरी छ। लोडसेडिङ मुक्त हुन उद्योग सञ्चालनका लागि समेत उर्जा उत्पादनमा विशेष ध्यान दिनुपर्छ।’
उनले २८,५०० मेगावाट उत्पादन लक्ष्य प्राप्त गर्नका लागि आफूहरूले सरकारलाई २० बुँदे सुझाव दिएको जानकारी दिए। उर्जा उत्पादन वृद्धिका लागि शक्तिशाली उर्जा मन्त्रालय गठन गर्नुपर्ने, एकद्वार प्रणाली लागू गर्नुपर्ने, वन क्षेत्रसँग सम्बन्धित नीतिहरू सहज बनाउनुपर्ने तथा आगामी विद्युत विधेयकले लगानीकर्तालाई प्रोत्साहित गर्ने गरी परिमार्जन गर्नुपर्नेमा उनले जोड दिए।
कार्कीले विद्युत क्षेत्रको विकासले नेपाललाई आर्थिक समृद्धि तर्फ डोहोर्याउने उल्लेख गर्दै डिजेल र पेट्रोलको आयात घटाउन उर्जा उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए। उनका अनुसार हालसम्म करिब ६५ लाख नेपालीले उर्जा क्षेत्रमा लगानी गरिसकेका छन्।



