गाजामा इजरायली आक्रमण : हमासका शीर्ष नेता बर्दाविल मारिए

काठमाडौं । गजाको दक्षिणी भूभाग खान युनिसमा इसराइली हवाई आक्रमणको चपेटामा पर्दै हमासका एक उच्चस्तरीय राजनीतिक नेता सलाह अल बर्दाविलको मृत्यु भएको छ। आक्रमणका क्रममा बर्दाविलसँगै उनकी श्रीमतीले पनि ज्यान गुमाएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार बर्दाविल हमासको राजनीतिक समितिका एक प्रमुख सदस्य थिए। इसराइली आक्रमणमा उनको निधन भएको कुरा हमासका अधिकारीहरूले पुष्टि गरेका छन्। हमासका प्रेस सल्लाहकार तहिर अल नोनोले आफ्नो फेसबुक पेजमार्फत बर्दाविलप्रति श्रद्धाञ्जली अर्पण गर्दै गहिरो शोक व्यक्त गरेका छन्।

गजामा पछिल्लो दुई महिनापछि इसराइलले ठूलो मात्रामा आक्रमण गरेको हो। इसराइल र हमासबीच युद्धविरामको विषयमा सहमति नभएपछि इसराइली सेनाले हमासविरुद्धको सैन्य कारबाहीलाई तीव्र पार्दै आकाश र जमिन दुवैबाट हमला गरेको हो।

गत मंगलबारदेखि भएका तीव्र आक्रमणमा सयौंले ज्यान गुमाएका छन्। मंगलबार मात्रै ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। आइतबार बिहान गजाको उत्तरी भागमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार एक घन्टाभन्दा बढी समय आकाशमा इसराइली युद्धविमानको गडगडाहट सुनिएको थियो।

युद्धविरामका कारण लाखौं मानिस गजामा फर्किएका थिए। तर, आक्रमण फेरि सुरू भएपछि धेरै प्यालेस्टिनीहरू छिमेकी मुलुकहरूतर्फ भाग्न थालेका छन्। इसराइलले हमासलाई दबाब दिनका लागि खाद्यान्न तथा मानवीय सहायता सामग्री बोकेका ट्रकहरूलाई सीमानामा रोकेको थियो।

४२ दिनसम्म युद्धविराम कायम रहे पनि दोस्रो चरणको युद्धविरामबारे सहमति हुन नसक्दा इसराइली सेनाले पुनः ठूलो आक्रमण थालेको हो। अमेरिकाको आग्रहमा इसराइलले युद्धविराम लम्ब्याउने प्रस्ताव गरेको भए पनि हमासले दोस्रो चरणको युद्धविराम सुरु हुनुपर्ने अडान लिएको थियो, जसका कारण हिंसा फेरि चर्किएको हो।

प्यालेस्टिनी जनताको पीडा थप गहिरिँदै गएका बेला युद्धको अवस्थाले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानिरहेको छ। गजामा जारी संघर्षले मानवीय संकट झन् भयावह बन्दै गएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री