एक सातामा तीन सय ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक प्रहरीले करिब एक साताको अवधिमा मात्रै ३०० बढी ट्याक्सी चालकलाई कारवाही गरेको छ ।

लगातार पाँच पटकसम्म कारवाही परेमा चालक अनुमतिपत्र ६ महीनाका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्थाअनुसार सो अभियान थालिएको प्रहरीले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको समन्वयमा मङ्सिर २० गतेबाट नियम विपरीत चल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने योजनाअनुसार अभिलेख राख्न शुरु गरेको हो ।

सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । उाका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कारवाही गरिएको छ ।

यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरीत प्रयोग गर्ने २० जनालाई कारवाही गरिएको सापकोटाले बताए । मङ्सिर महीनाभरिमा भने ७६५ ट्याक्सी चालक कारवाहीमा परिसकेको उनको भनाइ छ ।

निलम्बन प्रक्रियामा भने मङ्सिर २० गतेपछिको कारवाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ । अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ । पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने प्रवक्ता सापकोटाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै

काठमाडौं । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मंसिर ५ गते पाँच …

प्रतिकृया दिनुहॊस