काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा दाँतको स्वास्थ्यप्रति रहेको सामाजिक बुझाइ परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित ‘नेपालमा मुख स्वास्थ्य सेवाको वर्तमान अवस्था तथा चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले दाँतको स्वास्थ्यलाई केवल सौन्दर्यसँग मात्र जोडेर हेर्नु गलत रहेको स्पष्ट पारे।
मन्त्री पौडेलले बिग्रिएका दाँतलाई मिलाउने उपचार पद्धतिलाई धेरैले कस्मेटिक मात्र ठान्ने गरेको उल्लेख गर्दै, दाँतको स्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहने बताए। “दाँतको उपचारलाई कस्मेटिक उपचार मात्र मानिन्छ, जुन गलत बुझाइ हो। स्वस्थ शरीरका लागि स्वस्थ दाँत आवश्यक छ। यस विषयमा समाजमा रहेको गलत धारणा परिवर्तन गर्नुपर्छ,” उनले भने।
उनले दाँत उपचारका लागि अस्पताल, उपकरण तथा दक्ष जनशक्ति अनिवार्य रहेको बताउँदै दाँतको उचित हेरचाह गर्न नजान्दा समग्र स्वास्थ्यमा असर पर्ने उल्लेख गरे। “यो कुनै वैकल्पिक उपचार होइन, अनिवार्य स्वास्थ्य उपचार नै हो। समाजमा व्याप्त यो गलत बुझाइ हटाउनु जरुरी छ,” मन्त्री पौडेलले जोड दिए।
नेपालमा दाँत सम्बन्धी चिकित्सक उत्पादन भइरहे पनि समाजमा दाँत स्वास्थ्यलाई प्राथमिकता नदिइएका कारण दक्ष जनशक्ति विदेश पलायन हुनुपरेको मन्त्री पौडेलको भनाइ छ। “जनशक्ति उत्पादन भइरहे पनि नेपालमै सेवा दिन सक्ने वातावरण छैन। समाजले यसको आवश्यकता महसुस नगर्दा दक्ष जनशक्ति अन्य देशतिर जान बाध्य भएका छन्,” उनले बताए।
मन्त्री पौडेलले सरकार दाँत उपचारको महत्व बुझेर नीति निर्माणमा ध्यान दिने प्रतिबद्धता जनाउँदै देशभरका सबै संघीय अस्पतालमा दाँत स्वास्थ्य उपचार इकाई स्थापना गरिने जानकारी दिए। “दाँत स्वास्थ्यलाई अब सरकारले पनि प्राथमिकतामा राख्छ। संघीय अस्पतालहरूमा आवश्यक दरबन्दी कायम गरेर उपचार इकाई बनाइनेछ,” उनले भने।
दाँत स्वास्थ्यको महत्त्वपूर्ण भूमिकाबारे आम जनमानसलाई जानकारी गराउनु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले चेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए।




