मुख्यमन्त्री शाहको प्रेस सल्लाहकारमा डम्मर बम नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मरबहादुर बम नियुक्त भएका छन् । मुख्यमन्त्री शाहले बमलाई सोमबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गरेका छन् । उनी २०६२ सालदेखि पत्रकारितामा सक्रिय छन् । धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरिसकेका बम पछिल्लो समय नवीन सन्देश मासिकका सहसम्पादक तथा न्युज दैनिकमा कार्यरत थिए ।

डम्मर बमले पत्रकारितामा प्रवेश गर्ने प्रारम्भिक चरणमा धनगढीबाट प्रकाशित हुने दैनिक पत्रिका बेचेर आफ्नो जीविका चलाएका थिए । हकरको रूपमा आफ्नो करियर सुरु गरेका बमले सेती समाचार दैनिक, धनगढी पोस्ट, अनुमोदन दैनिक, दिनेश एफएम, कोशेली एफएम हुँदै राष्ट्रिय समाचार समितिमा समेत काम गरेका छन् ।

२०७१ सालमा उत्कृष्ट समाचार लेखनका लागि सम्मानित भएका बमले काठमाडौँमा बिज एफएममा कार्य गरेका थिए । उनी नेपाल प्रेस युनियन लम्की शाखाका पूर्व सभापति तथा केन्द्रीय सचिव पदमा उम्मेदवारसमेत भएका थिए । नेवि संघ सदस्यका रूपमा मनोनीत भएका उनले कैलाली जिल्ला सदस्यका रूपमा एक पटक निर्वाचित तथा एक पटक मनोनीत हुने अवसर पाएका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर (एम.ए.) तथा शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकोत्तर (एम.बी.एस.) गरेका छन् । साथै, नेपाल ल क्याम्पसबाट कानून विषयमा स्नातक (एलएल.बी.) उत्तीर्ण गरेका छन् ।

पत्रकारिताका साथै उनले विभिन्न संघसंस्थामा समेत संलग्नता जनाएका छन् । उनी नेपाल कर्मचारी युनियन संघ, शहरी विकास मन्त्रालयअन्तर्गत विभागीय सचिवका रूपमा कार्यरत छन् । साथै, उनी रेडियो डौना वेभरीका समाचार प्रमुख तथा लम्कीबाट प्रकाशित हुने हाम्रो कदम साप्ताहिकका कार्यकारी सम्पादकका रूपमा पनि क्रियाशील थिए ।

बमको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेश सरकारको सञ्चार रणनीतिमा थप सशक्तता आउने अपेक्षा गरिएको छ । मुख्यमन्त्री शाहको सरकारका निर्णय, नीति तथा कार्यसूचीलाई प्रभावकारी रूपमा सञ्चार माध्यमसम्म पुर्‍ययाउने जिम्मेवारी बमले निर्वाह गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप