काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० र १५ वर्षसम्म अविरल सेवा प्रदान गरेका आफ्ना कर्मचारीहरूलाई विशेष सम्मान गरेको छ। बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले १० वर्षे सेवा अवधि पूरा गरेका ६१ जना तथा १५ वर्षे सेवा अवधि पूरा गरेका १८ जना गरी ७९ जना कर्मचारीलाई प्रमाणपत्रसहित ‘दीर्घ सेवा सम्मान’ प्रदान गरे।
चैत्र १ गतेलाई ‘कर्मचारी दिवस’का रूपमा मनाउँदै आएको बैंकले अठारौँ वर्ष पूरा गरी उन्नाइसौँ वर्षमा प्रवेश गर्ने अवसरमा वार्षिक उत्सवसम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको छ। बैंकको वार्षिक उत्सव वैशाख ७ गते पर्ने छ। हाल सिटिजन्स बैंकमा १ हजार ८ सय कर्मचारी कार्यरत छन्।
समारोहलाई सम्बोधन गर्दै सीईओ पोखरेलले बैंकको सफलतामा कर्मचारीहरूको मिहिनेत, लगनशीलता, प्रतिबद्धता र जिम्मेवारीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भविष्यमा पनि उत्तिकै योगदान दिने अपेक्षा व्यक्त गरे।
कार्यक्रमका दौरान बैंकले २०८२ सालको क्यालेन्डर पनि सार्वजनिक गर्यो। हालै, बैंक अफ द ईयर २०२४ को उपाधि जित्न सफल भएको सिटिजन्स बैंकले केही समयअघि नेपालमै पहिलो पटक फोनपे सँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको थियो। साथै, मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा उपलब्ध गराउने सुविधा पनि पहिलो पटक ल्याएको छ।
देशभर ६० जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको बैंकले १९९ वटा शाखा, १६६ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरू मार्फत १८ लाख ५० हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।




