काठमाडौं । मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा प्रभु बैंकले भीम युपीआई सेवा सञ्चालनमा ल्याएको छ।
शुक्रबार आयोजित विशेष समारोहका बीच शुभारम्भ गरिएको यो सेवामार्फत भारतीय नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपीआईमार्फत क्युआर स्क्यान गरी मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्।
यस प्रविधिले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्न सुविधा उपलब्ध गराउनुका साथै नेपाल–भारतबीचको वित्तीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सीमापार डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने यो पहलले नेपाल र भारतको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।
शुभारम्भ समारोहमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा, पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजुराना मगर, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू तथा बैंकका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गभर्नर अधिकारीले भीम युपीआई सेवाको शुभारम्भले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशीकरणलाई सशक्त पार्ने बताए। साथै, नेपाल राष्ट्र बैंकले ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै यस्ता प्रविधिहरूको विस्तारमा निरन्तर प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे ।




