काठमाडौं । चन्द्रागिरि नगरपालिका-१०, बोसीगाउँस्थित आरएमबी प्लाष्टिक प्याकेजिङ हाउस (कवाड कारखाना) मा भीषण आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारद्वारा सञ्चालित कारखानामा गएराति १ः२० बजेबाट आगालागी भएको हो ।
आगो नियन्त्रणका लागि सुरक्षा तथा दमकल टोली खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार आगलागी नियन्त्रणमा आइसकेको छ । आगो निभाउन प्रहरी वृत्त बालाजु, थानकोट र स्थानीय सुरक्षा निकायका ३२ जनाको टोली परिचालित थियो । सशस्त्र प्रहरी बल तथा स्थानीय बासिन्दाको समेत सक्रिय सहभागितामा आगलागी नियन्त्रण गरिएको हो ।
हालसम्म कारखानामा भएको क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । आगो निभाउन सात वटा दमकल र १५ वटा पानी ट्याङ्कर प्रयोग गरिएको थियो ।
प्रहरीका अनुसार, चन्द्रागिरि नगरपालिका, विशाल बजार बारुण यन्त्र, बालाजुको बारुण यन्त्र, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, बौद्ध रामहिटी तथा बूढानीलकण्ठ नगरपालिकाका दमकलहरू आगो नियन्त्रणमा प्रयोग गरिएका थिए ।




