पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था, हिन्दु अधिराज्य चाहने दल, समूहहरूले हाल छुट्टाछुट्टै कार्यक्रम गरे पनि चैतमा एकत्रित भएर ‘वार कि पार’को आन्दोलनमा जाने घोषणा गरेका छन् ।
‘फागुन महिनामा देशव्यापी रुपमा आ-आफ्नो कार्यक्रम गरे पनि चैतमा राजा, सनातन धर्म चाहने सबै दल, समूह, संस्था एक ठाउँ आएर काठमाडौं केन्द्रित आन्दोलनमा जुट्ने छन् । अब जनता असक्षम नेतृत्वको विरुद्धमा उठ्ने बेला भइसक्यो, वार कि पार गर्ने समय आइसक्यो,’ नेता राणाले मंगलबार राप्रपाद्वारा आयोजित बृहत् मोटरसाइकल र्यालीलाई सम्बोधन गर्दै भने ।
प्रतिनिधिसभा सदस्य समेत रहेका राप्रपाका महामन्त्री राणाले राजाको आह्वानलाई सबै जनताले सहयोग गर्नु पर्नेमा जोड दिए । देश संकटमा परेको हुनाले देशलाई जोगाउन सबै राजसंस्थावादी, सनातन हिन्दु अधिराज्य पक्षधर, गणतन्त्र, संघीयता र भ्रष्टाचार विरोधी सबै एकजुट हुन महामन्त्री राणाले आह्वान गरे ।
राप्रपा, आन्दोलन परिचालन समितिले फागुन महिनाभरी सातै प्रदेशका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली र सार्वजनिक सभाहरू सञ्चालन गर्ने र चैत महिना काठमाडौं केन्द्रित आन्दोलन गर्ने कार्य योजना तय गरेको छ ।




